spot_img

वैदेशिक रोजगारी रोकिँदैन, सुरक्षित र व्यवस्थित बनाइन्छ : श्रममन्त्री यादव

spot_img
spot_img

काठमाडौं,०६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वर्तमान अवस्थामा वैदेशिक रोजगारी पूर्ण रूपमा बन्द गर्न सम्भव नभएको स्पष्ट पार्दै सरकारले यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन प्राथमिकता दिएको बताएका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीबाट वञ्चित गर्नु समाधान नभएको उल्लेख गरे। बरु उनीहरू शोषणबाट सुरक्षित रहून्, उचित पारिश्रमिक पाऊन् र आधारभूत सेवा–सुविधा सुनिश्चित होस् भन्ने उद्देश्यले सरकारले विभिन्न देशसँग श्रम सहकार्य विस्तार गरिरहेको बताए।

उनका अनुसार सरकारले युरोपेली मुलुकहरूसँग श्रम सम्झौता गर्ने पहल अघि बढाएको छ। विश्वव्यापी रूपमा श्रमिकको आवागमन स्वाभाविक भएकाले सुरक्षित र उच्च आम्दानी हुने नयाँ श्रम गन्तव्यहरूको खोजी पनि जारी रहेको उनले जानकारी दिए।

मन्त्री यादवले आन्तरिक श्रम बजार सुधारमा पनि सरकारले विशेष ध्यान दिएको बताए। देशभित्र कार्यरत श्रमिकले पारिश्रमिक, सेवा–सुविधा तथा श्रम अधिकारसम्बन्धी गुनासो सहज रूपमा राख्न सकून् भन्ने उद्देश्यले श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए।

विगतमा कानुन कार्यान्वयन कमजोर हुँदा श्रमिक ठगीका घटना बढेको स्वीकार गर्दै उनले अब श्रमिकलाई ठग्ने व्यक्ति तथा संस्थामाथि सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिए। मन्त्री यादवले श्रमिकको अधिकार संरक्षण र वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको पनि दोहोर्‍याए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय