spot_img

सिरहामा वन अतिक्रमण हटाउँदै डिभिजन वन कार्यालय

spot_img
spot_img

जनकपुर,०५ साउन । डिभिजन वन कार्यालय लहान, सिरहाले जिल्लाभर वन अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै अवैध रूपमा वन क्षेत्र ओगटेर बनाइएका संरचना हटाउन र अतिक्रमित जग्गा खाली गराउन थालेको छ। साथै वन पैदावारको चोरी–तस्करी नियन्त्रणका लागि नियमित गस्ती र अनुगमनलाई पनि कडा बनाइएको जनाएको छ।

कार्यालय प्रमुख बेचन चौधरीका अनुसार गोलबजार नगरपालिका–स्थित चोहर्वा ब्यारेक नजिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। त्यस्तै, बलान सामुदायिक वनको जग्गा अतिक्रमण गरी खेती गरिँदै आएको क्षेत्रसमेत खाली गराइएको उनले बताए।

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावार चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

यस अवधिमा नवराजपुर गाउँपालिकाको सोनबर्षा विद्यालय परिसरमा १६ लाख रुपैयाँ लागतमा ‘हरित पार्क’ निर्माण गरिएको छ। पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थीका लागि खेलकुद क्षेत्र निर्माण गरिएको कार्यालयले जनाएको छ।

त्यसैगरी धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरी २४ लाख रुपैयाँको लागतमा संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ। योजनाअन्तर्गत पोखरीमा घाट निर्माण गर्नुका साथै वरपरको क्षेत्र व्यवस्थित बनाइएको छ। धनगढीमाई मन्दिर परिसरमा चार लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको छ भने जिरोमाइलस्थित पार्क ३ लाख ६० हजार रुपैयाँ खर्चेर मर्मत गरिएको छ।

वन संरक्षणलाई थप प्रभावकारी बनाउन बलानमाई, सुबेदार चौरी र बलान खोला सन्यासी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ। साथै झ्वाई खोल्सी र राजदेवी चुरे सामुदायिक वनमा सिमसार संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन्। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदानसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

वन पैदावारको अवैध कटानी तथा ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती सञ्चालन गरिँदै आएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ। चोरी–तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

यस्तै, चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार रोक्न नियमित अनुगमन र गस्तीलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयका अनुसार वन संरक्षणसँगै सार्वजनिक स्थलको सौन्दर्यीकरण, सिमसार संरक्षण, वृक्षरोपण तथा सामुदायिक वन सुदृढीकरणमार्फत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय