काठमाडौं,०५ साउन । बलिउडका महानायक अमिताभ बच्चनले आफू हालै अस्पतालमा भर्ना भएर शल्यक्रिया गराएको खुलासा गरेका छन्। सोमबार आफ्नो व्यक्तिगत ब्लगमार्फत उनले शल्यक्रियापछि केही समय सघन उपचार कक्ष (आईसीयू)मा चिकित्सकहरूको निगरानीमा उपचार गराएको जानकारी दिएका हुन्।
यद्यपि बच्चनले शल्यक्रिया कहिले गरिएको, कुन अस्पतालमा उपचार गराइएको, स्वास्थ्य समस्या के थियो वा कति दिन अस्पतालमा बसे भन्नेबारे कुनै विवरण सार्वजनिक गरेका छैनन्।
ब्लगमा उनले अस्पताल बसाइको अनुभव साझा गर्दै शल्यक्रियापछि आईसीयूबाट घर फर्किने चरण नै सबैभन्दा कठिन हुने उल्लेख गरेका छन्। उनका अनुसार यो समय शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन्छ।
उनले लेखेका छन्, “तपाईं जीवनभर विजेता जस्तै अघि बढिरहनुभएको हुन्छ, तर एक दिन हार तपाईंको सामु उभिन्छ। यही नै जीवनको सबैभन्दा कठिन क्षण हो।” कठिन परिस्थितिमा केही मानिस साहसका साथ संघर्ष गर्ने र केहीले हार स्वीकार गर्ने उल्लेख गर्दै उनले निरन्तर संघर्ष गर्ने व्यक्ति नै वास्तविक विजेता हुने धारणा व्यक्त गरेका छन्।
ब्लगको अन्त्यमा उनले सबैलाई स्वस्थ र सकारात्मक रहन आग्रह गर्दै लेखेका छन्, “स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्।” साथै सामाजिक सञ्जालमा उनले “खेल समाप्त भयो, तर काम भने जारी छ” भन्ने सन्देश पनि पोस्ट गरेका छन्।
यसअघि गत मे महिनामा पनि अमिताभ बच्चन मुम्बईको नानावटी अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो। तर परिवारनिकट स्रोतहरूले त्यो बेला उनी नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै अस्पताल पुगेको र सोही दिन घर फर्किएको स्पष्ट पारेका थिए। त्यसको भोलिपल्ट उनी आफ्नो निवास ‘जल्सा’ बाहिर निस्किएर प्रशंसकलाई भेटेको भिडियो पनि सार्वजनिक भएको थियो।




