काठमाडौं,०५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुवै पक्षले प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक शिक्षाको विस्तार, शिक्षक क्षमता विकास, डिजिटल शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकासमा सहकार्य बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए।
मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सरकारले शिक्षा क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिए। उनले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम जारी रहेको तथा व्यवहारिक र सीपमुखी शिक्षामा जोड दिइएको बताए।
उनका अनुसार नयाँ पाठ्यक्रममा विद्यालय तहदेखि नै खेलकुदलाई समेट्ने तयारी भइरहेको छ। साथै, विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट विनियोजन गर्ने योजना पनि मन्त्रालयले अघि बढाएको उनले बताए।
मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, स्मार्ट तथा डिजिटल लर्निङ, विद्यालय स्वास्थ्य तथा पोषण, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा अमेरिकी सरकारसँग थप सहकार्य गर्न सकिने धारणा राखे।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि अमेरिका निरन्तर सहयोग गर्न तयार रहेको बताएका छन्। उनले सार्वजनिक विद्यालयको गुणस्तर सुधार, शैक्षिक सुधारका कार्यक्रम तथा मन्त्रालयले अघि बढाएका नीतिगत परिवर्तनमा आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
अमेरिकाले विगतदेखि नै युएसएआईडी लगायतका कार्यक्रममार्फत नेपालको शिक्षा क्षेत्रमा सहकार्य गर्दै आएको छ। भेटमा आगामी दिनमा पनि द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा सहमति भएको बताइएको छ।




