spot_img

प्रदेश सरकार गठनमा एमालेसँग सहकार्य गर्न प्रचण्डको निर्देशन

spot_img
spot_img

काठमाडौं,०५ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठन तथा सञ्चालनका लागि नेकपा एमालेसँग सहकार्यको वातावरण बनाउन पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्देशन दिएका छन्।

श्रीलंका भ्रमणबाट स्वदेश फर्किएपछि राजनीतिक भेटघाटलाई तीव्र बनाएका प्रचण्डले काठमाडौंमा आयोजित प्रदेश नेतृत्वसँगको छलफलमा बदलिँदो राजनीतिक परिस्थितिअनुसार प्रदेश सरकार गठनमा एमालेसँग सहकार्य आवश्यक रहेको धारणा राखेका हुन्।

बैठकमा सहभागी नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालका अनुसार प्रदेशमा राजनीतिक अस्थिरता अन्त्य गर्न, मध्यावधि निर्वाचनको सम्भावना टार्न र स्थिर सरकार गठन गर्न एमालेसँग सहकार्य गर्नु उपयुक्त विकल्पका रूपमा छलफल भएको थियो।

उनका अनुसार नेपाली कांग्रेस तीन दलीय सरकारको पक्षमा नदेखिएपछि प्रदेश सरकार गठनका लागि नयाँ राजनीतिक समीकरण आवश्यक भएको निष्कर्ष बैठकमा निकालिएको छ। यसै आधारमा कम्युनिष्ट शक्तिबीच सहकार्य गरेर बहुमतको स्थिर सरकार बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

यद्यपि, कुन प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा भने अन्तिम सहमति भइनसकेको नेताहरूले बताएका छन्। नेतृत्व बाँडफाँट र सत्ता साझेदारीका विषयमा थप छलफल जारी रहने जनाइएको छ।

पछिल्ला दिनमा विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशमा बजेट तथा सरकार सञ्चालनका विषयमा एमाले र कांग्रेसबीच मतभेद बढ्दै गएको छ। यसले प्रदेशस्तरको पुरानो सत्ता समीकरणमा परिवर्तन आउने संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा छ।

एमाले र नेकपाबीच बढ्दो संवादसँगै केन्द्रदेखि प्रदेशसम्म नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको विश्लेषण गरिएको छ। सातै प्रदेशमा दलहरूको संख्यात्मक अवस्था र शक्ति सन्तुलनका आधारमा आगामी दिनमा सरकार गठनको प्रक्रिया थप सक्रिय हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय