काठमाडौं,०५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रको भ्रमणलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन पार्टीसँग अनिवार्य समन्वय गरेर मात्र कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सांसदहरूको क्षेत्रीय भ्रमण केवल औपचारिक भेटघाट वा व्यक्तिगत जनसम्पर्कमा सीमित हुन नहुने उल्लेख गरिएको छ। पार्टीले जनताका समस्या र सुझावलाई संसद्मा उठाउने तथा पार्टीको राजनीतिक दृष्टिकोणलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित भ्रमण सञ्चालन गर्न आग्रह गरेको छ।
रास्वपाले भ्रमणअघि सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी समितिलाई आधिकारिक जानकारी दिनुपर्ने, स्थानीय नेतृत्वसँग छलफल गरी क्षेत्रका प्राथमिक समस्या पहिचान गर्नुपर्ने र त्यसका आधारमा कार्यक्रम तय गर्नुपर्ने निर्देश दिएको छ।
त्यस्तै, कार्यक्रमलाई तडकभडक र अनावश्यक खर्चबाट टाढा राख्दै मितव्ययी ढंगले सञ्चालन गर्न पनि सांसदहरूलाई सचेत गराइएको छ।
भ्रमणका क्रममा प्राप्त जनगुनासा, सुझाव तथा स्थानीय समितिका प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा पेस गर्नुपर्ने व्यवस्था पनि पार्टीले गरेको छ। रास्वपाले यस कदमले जनताको आवाजलाई प्रभावकारी रूपमा संसद्मा पुर्याउन र पार्टीको संगठनात्मक समन्वयलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।




