spot_img

सोनम वाङ्चुकलाई मेदान्त अस्पताल सार्न दिल्ली उच्च अदालतको अनुमति

spot_img
spot_img

काठमाडौं,०५ साउन ।  दिल्ली उच्च अदालतले सामाजिक अभियन्ता तथा वातावरणविद् सोनम वाङ्चुकलाई सफदरजंग अस्पतालबाट मेदान्त अस्पताल सार्न अनुमति दिएको छ।

मंगलबार मुख्य न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र न्यायाधीश तेजस करियाको इजलासले वाङ्चुककी पत्नी डा. गीताञ्जली आंग्मोले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उपचारका लागि निजी अस्पताल लैजान अनुमति दिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले लामो समयदेखि अनशनमा रहेका वाङ्चुकको स्वास्थ्य अवस्था संवेदनशील भएकाले निरन्तर चिकित्सकीय निगरानी आवश्यक रहेको निष्कर्ष निकालेको छ। सुनुवाइका क्रममा एम्स, सफदरजंग अस्पताल तथा वाङ्चुकका निजी चिकित्सकले दिएका स्वास्थ्य प्रतिवेदन र सुझावमाथि पनि छलफल भएको थियो।

अदालतले चिकित्सकको राय, स्वास्थ्य अवस्थाको गम्भीरता र वाङ्चुकले व्यक्त गरेको इच्छालाई आधार मानेर मेदान्त अस्पतालमा उपचारको व्यवस्था गर्न आदेश दिएको जनाएको छ।

केन्द्र सरकारका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता तुषार मेहताले वाङ्चुकलाई मेदान्त अस्पताल लैजान सरकारको कुनै आपत्ति नरहेको बताए। साथै उनले चिकित्सकको सल्लाहविपरीत अस्पताल छोड्नु उचित नहुने धारणा पनि राखे।

लद्दाखका विभिन्न माग राख्दै अनिश्चितकालीन भोक हडतालमा बसेका वाङ्चुकलाई गत शनिबार दिल्ली प्रहरीले अनशनस्थलबाट सफदरजंग अस्पतालमा भर्ना गरेको थियो। त्यसपछि उनको समर्थनमा सोमबार जन्तर–मन्तरबाट संसद् भवनसम्म मार्च निकाल्ने प्रयास गरिएको भए पनि सुरक्षाकर्मीले बीचमै रोकेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय