spot_img

अब वैदेशिक रोजगार ठगीको उजुरी अनलाइनबाटै

spot_img
spot_img

काठमाडौं,०५ साउन । वैदेशिक रोजगारीका नाममा ठगीमा परेका पीडितहरूले अब विभागमा धाइरहनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएसँगै घरमै बसेर ठगीसम्बन्धी उजुरी दर्ता गर्न र त्यसको कारबाही प्रक्रिया अनलाइनमार्फत नै पछ्याउन सकिने व्यवस्था लागू गरेको हो।

युवा, श्रम तथा रोजगार मन्त्रालयले साउन १ गतेदेखि ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो। यस प्रणालीमार्फत पीडितले मोबाइल वा कम्प्युटर प्रयोग गरी आवश्यक कागजात र प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा अनलाइन प्रणालीले पीडितलाई छिटो र सहज रूपमा न्यायको पहुँच दिलाउने विश्वास व्यक्त गरे। उनका अनुसार वैदेशिक रोजगारीको नाममा ठगी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।

मन्त्री यादवले अब ठगीसम्बन्धी उजुरी दर्ता गर्न काठमाडौं आउनुपर्ने बाध्यता हटेको उल्लेख गर्दै घरबाटै उजुरी दर्ता गर्ने र त्यसको प्रगति पनि अनलाइनमार्फत हेर्न सकिने बताए।

विभागका अनुसार अनलाइनमार्फत उजुरी दर्ता भएपछि सम्बन्धित व्यक्तिको मोबाइल र इमेलमा सूचना पठाइनेछ। त्यससँगै उपलब्ध गराइने ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर पीडितले जुनसुकै बेला आफ्नो उजुरीको अवस्था र अनुसन्धानको प्रगति हेर्न सक्नेछन्।

साउन १ गतेदेखि पूर्ण रूपमा लागू गरिएको यस प्रणालीमार्फत चार दिनमै १४ वटा उजुरी दर्ता भइसकेका छन्। विभागले सेवाग्राहीलाई नयाँ प्रणाली प्रयोग गर्न प्रोत्साहन दिँदै कर्मचारीहरूलाई पनि यसको अभ्यास गराइरहेको जनाएको छ।

यद्यपि, अधिकांश सेवाग्राहीलाई अनलाइन उजुरीको सुविधाबारे पर्याप्त जानकारी नहुँदा अझै पनि कागजात बोकेर विभागमै पुग्ने क्रम जारी रहेको विभागका कर्मचारीहरू बताउँछन्। पीडितहरूले भने यो प्रणालीले समय, खर्च र झन्झट कम गर्दै न्यायमा पहुँच सहज बनाउने अपेक्षा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय