कलैया,०५ साउन । वीरगन्ज–कलैया सडकखण्डअन्तर्गत भलुही चोकमा भएको सवारी दुर्घटनापछि सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको पहलमा आयोजित कार्यक्रममा दुर्घटनास्थलको निरीक्षण गर्दै स्थानीय बासिन्दा, चालक तथा सडक प्रयोगकर्तालाई सुरक्षित आवागमनका उपायबारे जानकारी गराइएको हो।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले तीव्र गति, चालकको लापरवाही र ट्राफिक नियमको उल्लङ्घन नै सडक दुर्घटनाका मुख्य कारण रहेको बताए। उनले दुर्घटना रोक्न चालकले सवारी साधनको नियमित जाँच गर्नुपर्ने, तोकिएको गतिमा मात्र सवारी चलाउनुपर्ने र सडक प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए।
प्रहरी उपरीक्षक बस्नेतले पैदलयात्रीलाई पनि सुरक्षित स्थान वा जेब्राक्रसिङबाट मात्र सडक पार गर्न आग्रह गर्दै सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए।
प्रहरीका अनुसार दुर्घटना बढी हुने राजमार्ग क्षेत्रहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ। ट्राफिक नियम पालनप्रति नागरिकको जिम्मेवारी बढाउँदै दुर्घटनाको जोखिम घटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।




