काठमाडौं,०५ साउन । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने निर्णयलाई स्वागत गर्दै विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि खारेज गर्न आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याटले स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगलाई निरुत्साहित गर्ने बताएका छन्। उनका अनुसार यस्तो करले आयातित इन्धनको प्रयोग घटाउने राष्ट्रिय लक्ष्यसँग पनि मेल खाँदैन।
घिसिङले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाउने घोषणा गरेकोलाई सकारात्मक कदमको रूपमा लिँदै अब उक्त निर्णयलाई कानुनी प्रक्रिया पूरा गरेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
उनले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्कलाई कानुनी रूपमा पूर्ण रूपमा खारेज गर्नुका साथै विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा समता शुल्क लगाउने निर्णय गरेपछि विभिन्न क्षेत्रबाट व्यापक आलोचना भएको थियो। त्यसपछि प्रधानमन्त्रीले उक्त निर्णय फिर्ता लिने घोषणा गरेका थिए। घिसिङले त्यसलाई स्वागतयोग्य भन्दै अब विद्युत् क्षेत्रमा लगाइएको भ्याट हटाउने विषयमा पनि सरकारले आवश्यक निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन्।




