spot_img

पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

spot_img
spot_img

काठमाडौं,०५ साउन  । विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध दायर भ्रष्टाचार मुद्दालाई मुल्तवीमा राख्न माग गरिएको निवेदन अस्वीकार गरेको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले महतको स्वास्थ्य अवस्थाबारे अदालतमै प्रत्यक्ष मूल्याङ्कन गर्न सकिने भन्दै हाललाई मुद्दा मुल्तवीमा राख्न आवश्यक नरहेको आदेश दिएको हो।

डा. महतकी पत्नी रोशना महतले उनका श्रीमान् गम्भीर मानसिक समस्याबाट पीडित भएको, स्मरणशक्ति कमजोर भएको र आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको दाबी गर्दै मुद्दा स्थगित (मुल्तवी) गर्न निवेदन दिएकी थिइन्। तर अदालतले महत स्वयं उपस्थित भएपछि स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक परे कानुनअनुसार उपयुक्त आदेश जारी गर्न सकिने उल्लेख गरेको छ।

अदालतको आदेशमा प्रतिवादी अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखेर आवश्यक निर्णय लिन सकिने भएकाले हालको अवस्थामा मुद्दा मुल्तवीमा राख्न नमिल्ने उल्लेख गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार होस–ठेगानामा नरहेको वा आफ्नो प्रतिरक्षा गर्न नसक्ने व्यक्तिको स्वास्थ्य अवस्था चिकित्सकीय परीक्षणबाट पुष्टि भएमा मुद्दा मुल्तवीमा राख्ने व्यवस्था छ। सोही कानुनी आधारमा रोशना महतले अदालतमा निवेदन दिएकी थिइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा डा. रामशरण महतसहित पूर्वमन्त्री रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य तथा अन्य प्रतिवादीहरू पनि मुछिएका छन्। यो मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय