बीरगन्ज,०६ साउन । आम जनता पार्टी (आजपा)ले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर फिर्ता लिने निर्णयको स्वागत गर्दै अब राइड सेयरिङ सेवा र बिजुली महसुलमा लगाइएको कर पनि खारेज गर्न माग गरेको छ।
आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा र स्वास्थ्यजस्ता संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेका क्षेत्रमा कर लगाउनु सुरुदेखि नै अनुचित रहेको बताएका छन्। सरकारको पछिल्लो निर्णयले नागरिकको भावना र जनचाहनालाई सम्बोधन गरेको उनको भनाइ छ।
साहले अब आम उपभोक्तामाथि थप आर्थिक भार परेको भन्दै राइड सेयरिङ सेवा र विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार राइड सेयरिङ सेवा र बिजुली दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवा भएकाले यस्ता क्षेत्रमा कर लगाउँदा सर्वसाधारण नागरिक नै बढी प्रभावित हुने अवस्था सिर्जना भएको छ। त्यसैले नागरिकलाई राहत दिने उद्देश्यले यी सेवामा लगाइएको भ्याट पनि खारेज गर्नुपर्ने आजपाको माग छ।




