spot_img

भूमि प्रशासन कार्यालय गौरमा घुसखोरी र दलालीको आरोप, सेवाग्राही आक्रोशित

spot_img
spot_img

रौतहट,०६ साउन । रौतहटको भूमि प्रशासन कार्यालय गौरमा सेवाप्रवाहका क्रममा घुसखोरी, दलाली र बिचौलियाको प्रभाव बढेको भन्दै सेवाग्राहीहरूले गम्भीर गुनासो गरेका छन्। उनीहरूले कार्यालय प्रमुखदेखि विभिन्न शाखाका कर्मचारीसम्मले आर्थिक लेनदेनबिना काम नगर्ने गरेको आरोप लगाएका छन्।

सेवाग्राहीका अनुसार कार्यालयभित्र दुई किसिमको कार्यशैली देखिएको छ। एक समूह कानुनी प्रक्रिया र मापदण्डअनुसार सेवा दिन प्रयासरत देखिए पनि अर्को समूह भने बिचौलिया, आफन्त र पहुँचवालामार्फत आउने फाइललाई प्राथमिकता दिने गरेको आरोप छ। उनीहरूका अनुसार आर्थिक प्रभाव नपुगेका सेवाग्राहीका फाइलमा विभिन्न कानुनी तथा प्राविधिक बहाना देखाएर अनावश्यक ढिलाइ गरिन्छ।

जिल्ला अदालतबाट भएको बन्डा छुट्याउने निर्णय, मिलापत्रबमोजिमको दाखिल–खारेज, नामसारी, मोही लगत कट्टा, राजीनामा, दानपत्र, दृष्टिबन्धक तथा जग्गा रजिस्ट्रेसनलगायतका सेवामा सबै आवश्यक कागजात पूरा भए पनि कर्मचारीले सानातिना त्रुटि देखाएर फाइल रोक्ने गरेको सेवाग्राहीहरूको भनाइ छ।

स्थानीयका अनुसार घुस नदिने सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउन बाध्य बनाइन्छ भने बिचौलिया वा लिखन्दासमार्फत रकम पुगेपछि सोही काम छिट्टै सम्पन्न हुने गरेको आरोप छ। विशेषगरी मोहीयानी फाँट, नामसारी शाखा र जग्गासम्बन्धी अन्य सेवामा आर्थिक चलखेल व्यापक रहेको उनीहरूको दाबी छ।

एक सेवाग्राहीले भने, “पैसा नदिए कानुनका अनेकौँ कारण देखाएर फाइल रोकिन्छ, तर पैसा पुगेपछि त्यही काम सहजै हुन्छ।” उनका अनुसार कार्यालयमा अधिकांश सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिचौलियाको सहारा लिन बाध्य हुने अवस्था रहेको छ।

यता, सेवाग्राहीहरूले भूमि प्रशासन कार्यालय गौरमा देखिएको भनिएको अनियमितता, दलाली र घुसखोरीबारे निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि आवश्यक कारबाही गरी कार्यालयमा पारदर्शी, निष्पक्ष र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय