काठमाडौं,०६ साउन । वैदेशिक रोजगारसम्बन्धी साधारण प्रकृतिका ठगीका उजुरी अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ। यस्ता उजुरीमा स्थानीय स्तरमै मिलापत्रको प्रक्रिया अघि बढाइनेछ भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था गरिएको छ।
सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ प्रणालीमार्फत पीडितले स्वदेश वा विदेशबाटै आवश्यक प्रमाणसहित अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी नियन्त्रणमा राखेको, करारअनुसारको काम, तलब वा सेवा–सुविधा नपाएको लगायतका विषयमा पीडित स्वयं वा उनका परिवारका सदस्यले उजुरी दिन सक्नेछन्।
विभागका अनुसार दर्ता भएको उजुरीको अवस्थाबारे उजुरीकर्तालाई इमेल र एसएमएसमार्फत नियमित जानकारी उपलब्ध गराइनेछ, जसले उजुरीको प्रगति सहज रूपमा थाहा पाउन मद्दत गर्नेछ।
विभागले प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दर्ता र प्रारम्भिक कारबाही हुने जनाएको छ। यससँगै सामान्य प्रकृतिका उजुरीका लागि काठमाडौं धाइरहनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
जिल्लास्तरमा मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले गर्नेछ। विभागका अनुसार नयाँ व्यवस्थाले पीडितलाई छिटो न्याय दिलाउन, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र समस्यामा परेका श्रमिकको उद्धार प्रक्रिया थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




