काठमाडौं,०६ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा मुलुकलाई सही दिशा दिन बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप र एकताको नीतिलाई आत्मसात् गर्नु अपरिहार्य भएको बताएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैभन्दा पहिले पार्टीभित्र एकता कायम गर्नुपर्ने र त्यसपछि देशका अन्य राजनीतिक शक्तिहरूसँग पनि सहकार्य र मेलमिलाप आवश्यक रहेको धारणा राखे।
उनले भने, “आज बीपीको मेलमिलापको नीति झन् सान्दर्भिक बनेको छ। राष्ट्रिय हितका लागि पहिले पार्टीभित्र र त्यसपछि सबै राजनीतिक शक्तिबीच एकता आवश्यक छ।”
डा. कोइरालाले बीपी कोइरालाको उपचारका क्रममा भारतको दिल्लीमा भएको एक मार्मिक प्रसंग पनि स्मरण गरे। चौथो चरणको क्यान्सर भएको जानकारी पाएपछि पनि बीपीले चिकित्सकसँग आफू कति समय बाँच्ने भनेर सोध्नुको उद्देश्य व्यक्तिगत चिन्ता नभई देशका लागि अझै केही योगदान गर्न बाँकी रहेको भावना रहेको उनले बताए। त्यही समर्पण र राष्ट्रप्रतिको जिम्मेवारी अहिलेका नेताले पनि अनुकरण गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा उनले बीपी कोइरालाको राजनीतिक जीवन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रियताप्रतिको योगदानबारे चर्चा गर्दै २०१७ साल पुस १ गतेको राजकीय कदम र त्यसपछिको संघर्षलाई पनि स्मरण गरे। उनले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताले सुन्दरीजल बन्दीगृहमा बिताएको सात वर्षको इतिहास युवा पुस्ताले बुझ्न आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई सुन्दरीजल भ्रमण गर्न सुझाव दिए।
डा. कोइरालाले २०३३ सालमा राष्ट्रियता संकटमा परेको महसुस गर्दै बीपी कोइराला गम्भीर मुद्दाहरूको सामना गर्न तयार भएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै प्रजातन्त्र र राष्ट्रियतालाई सँगसँगै अघि बढाउने उनको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
उनले अदालतमा विचाराधीन मुद्दाका क्रममा पार्टीका सबै राजनीतिक निर्णय र आन्दोलनको जिम्मेवारी सभापतिको हैसियतले बीपीले आफूले लिएको उदाहरण प्रस्तुत गर्दै त्यस्तो साहसी, जिम्मेवार र दूरदर्शी नेतृत्व आजको राजनीतिमा दुर्लभ बन्दै गएको टिप्पणी गरे।




