काठमाडौं,०६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार र प्रतिपक्षको वर्तमान कार्यशैलीप्रति व्यंग्य गर्दै प्रधानमन्त्री बालेन शाहको ‘ब्रेक’ सम्बन्धी अभिव्यक्तिलाई संकेत गरेका छन्।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना पाँच किलोमिटर दौडमा सहभागी भएपछि बोल्दै थापाले आफू कुनै विश्रामबिना दौड पूरा गरेको उल्लेख गर्दै रोचक प्रसंग सुनाए।
उनले भने, “म पाँच किलोमिटर एकछिन पनि नरोकिई दौडिएँ। त्यसपछि सँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो– गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने। मैले पनि यसपालि यस्तै रहेछ भनेर हाँसेर टारेँ।”
थापाको यो टिप्पणी केही दिनअघि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन शाहले सरकारको ‘गाडीमा ब्रेक छैन, गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ’ भन्ने अभिव्यक्तिप्रति लक्षित रूपमा आएको मानिएको छ।
यस अवसरमा थापाले जलवायु परिवर्तनलाई नेपालको विकास नीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले विकासलाई केवल भौतिक पूर्वाधारसँग मात्र जोड्न नहुने भन्दै सामाजिक न्याय, मानव कल्याण, नैतिक उत्तरदायित्व र दिगोपनलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
बीपी कोइरालाको राजनीतिक योगदानबारे चर्चा गर्दै थापाले ‘समावेशी’ शब्द त्यतिबेला प्रचलनमा नभए पनि बीपीले व्यवहारमै समावेशी लोकतन्त्रको अभ्यास गरेको बताए। महिलालाई मन्त्रिपरिषद्मा स्थान दिने, दलित समुदायका प्रतिनिधिलाई पार्टीको नेतृत्वमा ल्याउने तथा विभिन्न जातजाति र भाषाभाषीको सहभागिता सुनिश्चित गर्ने कार्य त्यसकै उदाहरण भएको उनको भनाइ थियो।
उनले बीपीले वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतसाधनमा न्यायपूर्ण पहुँचको अवधारणा धेरैअघि अघि सारेको स्मरण गर्दै ती दूरदर्शी सोच आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
महामन्त्री थापाले नेपाली कांग्रेसले भविष्यको राजनीतिक यात्रा तय गर्दा विगतका अनुभव र अग्रज नेताहरूको विचारबाट सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनलाई विकासको मूल एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि पार्टीले विज्ञ र युवाबाट प्राप्त सुझावलाई नीतिगत रूपमा समेटेर कार्यान्वयनमा लैजाने बताए।




