काठमाडौं,०६ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीका सांसद आरेन राईको विगतको विवादित अभिव्यक्तिलाई लिएर भइरहेका आलोचनाप्रति प्रतिक्रिया दिँदै उनलाई सुधारिने अवसर दिनुपर्ने बताएका छन्।
पार्टी प्रवेश कार्यक्रमका लागि जनकपुरधाम पुगेका साम्पाङले कार्यक्रममा बोल्ने क्रममा आरेन राईको पुरानो अभिव्यक्तिको प्रसंग उठाएका हुन्। यसअघि जानकी मन्दिर दर्शनका लागि जाँदा केही युवाले राईको पुरानो भनाइलाई लिएर विरोध जनाएपछि उनले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका थिए।
साम्पाङका अनुसार आरेन राई श्रम संस्कृति पार्टीमा आउनुअघि अर्को राजनीतिक संगठनमा सक्रिय थिए र त्यही समयको विचार तथा प्रशिक्षण (स्कुलिङ) का कारण उनले विवादित अभिव्यक्ति दिएका हुन सक्छन्। अहिले भने उनी फरक राजनीतिक संस्कार र विचारधारामा रहेकाले विगतका अभिव्यक्तिका आधारमा निरन्तर आलोचना गर्नु उचित नहुने उनको भनाइ छ।
उनले मानिसको सोच र व्यवहार वातावरण, संगत र सिकाइसँगै परिवर्तन हुने उल्लेख गर्दै आरेन राई अहिले श्रम संस्कृति पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढिरहेको बताए।
साम्पाङले भने, “मानिसले जीवनमा गल्ती गर्न सक्छ, तर उसलाई सुधारिने अवसर पनि दिनुपर्छ। आरेन राईले आफ्नो पुरानो अभिव्यक्तिप्रति संसद्मै उभिएर माफी मागिसक्नुभएको छ। त्यसैले विगतका विषयलाई निरन्तर उचालेर उहाँलाई मात्र होइन, सम्पूर्ण पार्टीलाई दोष दिनु उचित हुँदैन।”
उनले आरेन राई अहिले श्रम संस्कृति पार्टीको विचारअनुसार काम गरिरहेको दाबी गर्दै उनको वर्तमान भूमिका र व्यवहारका आधारमा मूल्यांकन गर्नुपर्ने धारणा राखे।
साम्पाङले नेपाली समाजलाई पनि विगतका गल्तीभन्दा व्यक्तिको वर्तमान सोच, व्यवहार र सुधारको प्रयासलाई प्राथमिकता दिन आग्रह गर्दै सुधारको अवसर सबैका लागि खुला हुनुपर्ने बताए।




