काठमाडौं,०६ साउन । करिब २६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा नेपाली सेनाले उद्योग परिसरको सरसफाइ, पुराना मेसिनको मर्मत तथा उत्पादनपूर्व तयारीको काम अघि बढाएको छ। सरकारले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।
मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीका अनुसार उद्योग पुनः सञ्चालनका लागि मन्त्रालय र नेपाली सेनाले छुट्टाछुट्टै प्राविधिक अध्ययन सम्पन्न गरिसकेका छन्। प्रारम्भिक तयारीका लागि अर्थ मन्त्रालयले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत ३३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।
हाल उद्योगमा रहेका पुराना मेसिनलाई सञ्चालनयोग्य बनाउने, उपकरण परीक्षण गर्ने तथा उत्पादनस्थलको सरसफाइ गर्ने काम भइरहेको छ। पहिलो चरणमा अहिले उपलब्ध मेसिनबाटै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरकारी निकायका लागि आवश्यक कपडा उत्पादन गर्ने योजना बनाइएको छ।
मन्त्रालयका अनुसार परीक्षण उत्पादन सफल भएपछि आधुनिक उपकरण थप्ने, उत्पादन क्षमता विस्तार गर्ने र दीर्घकालीन सञ्चालन मोडलबारे निर्णय गरिनेछ।
यससँगै बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनको सम्भावनाबारे पनि अध्ययन भइरहेको छ। त्यसका साथै बर्दियास्थित कपास विकास समितिको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। स्वदेशमै कपास उत्पादन बढाउने विषयमा कृषि मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ।
उद्योग सञ्चालनबारे गठित कार्यदलले असार ३० गते उद्योगमन्त्री गौरीकुमारी यादवलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा तत्काल परीक्षण उत्पादन सुरु गरी चरणबद्ध रूपमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्ययोजना प्रस्तुत गरिएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा वि.सं. २०३२ मा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। तर राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र आर्थिक समस्याका कारण वि.सं. २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको थियो।
सरकारले यसपटक उद्योगलाई पुनर्जीवित गर्दै पहिलो चरणमा सरकारी निकायका बर्दी र विद्यालय पोशाक उत्पादनलाई प्राथमिकता दिएको छ। सफल परीक्षणपछि उद्योगको उत्पादन दायरा विस्तार गर्ने तयारी गरिएको छ।




