spot_img

श्रमिकका उजुरी अब १ घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको कडा निर्देशन

spot_img
spot_img

काठमाडौं,०६ साउन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा सेवाग्राहीका उजुरी तथा निवेदनलाई अब प्राप्त भएको एक घण्टाभित्रै प्राथमिक रूपमा सम्बोधन गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।

विभागले श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरीको सुनुवाइमा ढिलाइ, सेवाग्राहीप्रतिको असन्तोषजनक व्यवहार तथा न्याय सम्पादनमा भइरहेको विलम्ब अन्त्य गर्न यस्तो व्यवस्था लागू गरेको जनाएको छ।

यसअघि हेलो सरकार, श्रम मन्त्रालय, विभाग तथा कार्यालयमा सिधै दर्ता भएका उजुरी समयमै फछ्र्योट नभएको भन्दै श्रममन्त्रीसमक्ष पटक–पटक गुनासो पुगेपछि विभागले कडाइ गरेको हो।

नयाँ व्यवस्थाअनुसार उजुरी वा निवेदन प्राप्त भएपछि एक घण्टाभित्रै प्रारम्भिक सम्बोधन गरी त्यसको अवस्थाबारे सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउनुपर्नेछ। यदि विषय सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भए कारण खुलाएर तुरुन्तै सम्बन्धित निकायमा पठाउनुपर्ने निर्देश गरिएको छ।

विभागले श्रमिकका उजुरीमा सम्बन्धित उद्योग वा प्रतिष्ठानसँग समयमै स्पष्टीकरण माग्ने, श्रम कानुनअनुसार दुवै पक्षबीच वार्ता तथा मध्यस्थता गराउने र सहमति हुन नसके कानुनी प्रक्रियाअनुसार शीघ्र निर्णय दिनुपर्ने व्यवस्था पनि गरेको छ। साथै, श्रम अदालत र श्रम कार्यालयबाट भएका आदेश तथा निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

हेलो सरकारमार्फत आएका गुनासो समाधान भएपछि त्यसको प्रगति विवरण प्रणालीमा तत्काल अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ अनुसार सरकारी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी, आचरण र सेवाप्रतिको उत्तरदायित्व कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय