काठमाडौं,०६ साउन । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले न्यायिक समिति गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै समितिलाई घटनाका सबै पक्षको अध्ययन, अनुसन्धान तथा सत्यतथ्य उजागर गर्ने जिम्मेवारी दिइएको जानकारी दिए।
मुगुका २५ वर्षीय गणेश नेपालीले केही दिनअघि राहदानी विभाग परिसरअगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।
सरकारले घटनाको वास्तविक कारण र त्यससँग सम्बन्धित सबै पक्षबारे निष्पक्ष छानबिन गरी आवश्यक प्रतिवेदन पेश गर्न न्यायिक समितिलाई जिम्मेवारी दिएको जनाएको छ।




