वीरगन्ज,०६ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट सञ्चालित माई टेलिभिजनलाई समाचारको तथ्य तथा आधार पेस गर्न पत्राचार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका सचिव वीजय महतोद्वारा बुधबार जारी विज्ञप्तिमा प्रहरीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गरेको आरोप लगाइएको छ। महासंघले यस्तो कार्यले स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप हुने जनाएको छ।
घटनाअनुसार, वीरगन्ज महानगरपालिका–३१ मा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा माई टेलिभिजनले समाचार प्रसारण गरेको थियो। उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित वडा अध्यक्षले प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले समाचारको तथ्य पेस गर्न टेलिभिजनलाई पत्राचार गरेको थियो।
महासंघले समाचारप्रति असहमति वा गुनासो भए सम्बन्धित सञ्चारमाध्यमसँग खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया माग्ने तथा आवश्यक परे प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार खोज्ने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। यस्तो अवस्थामा प्रहरीमार्फत सञ्चारमाध्यमलाई पत्राचार गर्नु विधिसम्मत अभ्यास नभएको महासंघको भनाइ छ।
विज्ञप्तिमा सञ्चारमाध्यमलाई मानसिक दबाबमा पार्ने, स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने तथा संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ। महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढ्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
यता, स्थानीय सञ्चारकर्मीहरूले पनि प्रहरीको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै प्रेस स्वतन्त्रतामाथि अनावश्यक हस्तक्षेप भएको टिप्पणी गरेका छन्। उनीहरूले समाचारप्रति असहमति भए कानुनअनुसारको प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएका छन्। यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन।




