spot_img

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

spot_img
spot_img

काठमाडौं,०७ साउन । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा विद्युत् दुर्घटनामा परी दुवै हात गुमाएका एक बालकलाई उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्राधिकरणको सञ्चालक समितिको बैठकले दुर्घटनामा गम्भीर घाइते भएका बालकका लागि उक्त रकम स्वीकृत गरेको हो।

प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका–२ घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएका कारण गम्भीर विद्युतीय दुर्घटना भएको थियो। दुर्घटनामा उनका दुवै हात गुमेका थिए।

स्वीकृत क्षतिपूर्ति रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार पीडितलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउँदै आएको छ। सोही विनियमावलीअनुसार १० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति स्वीकृत गर्ने अधिकार प्राधिकरणको सञ्चालक समितिलाई रहेको व्यवस्था छ।

ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार प्रचलित कानुनी व्यवस्था र विगतका नजिरलाई आधार मानेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो।

मन्त्रालयले पछिल्ला वर्षहरूमा विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षति चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रको निगरानी, सुरक्षा सतर्कता र जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

साथै, यस्ता दुर्घटना न्यूनीकरणका लागि नागरिक स्वयं पनि विद्युत् सुरक्षाप्रति सचेत हुनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय