काठमाडौं,०७ साउन । बैंकिङ कसुरसम्बन्धी मुद्दामा व्यवसायी शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, दीपक भट्ट र शाहिल अग्रवालको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा प्रतिवादीहरूको बयान लिने कार्य जारी रहेको छ। प्रतिवादीमध्ये इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट तथा जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र शाहिल अग्रवाल रहेका छन्।
यसअघि शंकरलाल अग्रवाललाई बुधबार प्रहरीले पक्राउ गरेको थियो भने दीपक भट्ट र सुलभ अग्रवाल गत चैतमै पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए।
उनीहरूविरुद्ध २०८३ जेठ २८ गते बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो।
अभियोगअनुसार जगदम्बा स्टिल्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’ तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गर्दै हिमालयन रि–इन्स्योरेन्समा लगानी गरिएको तथा जग्गा खरिदका लागि बैना रकम उपलब्ध गराएर कर्जाको दुरुपयोग गरिएको आरोप प्रतिवादीहरूमाथि लागेको छ। अदालतमा उक्त मुद्दामाथिको सुनुवाइ प्रक्रिया अघि बढिरहेको छ।




