काठमाडौं,०७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना पछि मुलुकले हासिल गरेका उपलब्धिलाई नियोजित रूपमा कमजोर देखाउने प्रयास भइरहेको बताएका छन्।
बिहीबार कीर्तिपुरस्थित चम्पादेवीमा रहेको पुष्पलाल प्रतिष्ठानमा आयोजित पुष्पलाल स्मृति दिवसको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछिको राजनीतिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अवमूल्यन गरिएको दाबी गरे।
उनले सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ती उपलब्धिलाई झुटा प्रचारमार्फत बदनाम गर्ने प्रयास भइरहेको बताए।
प्रचण्डले पुष्पलाल स्मृति दिवस श्रद्धाञ्जली व्यक्त गर्ने दिन मात्र नभई गणतन्त्रका उपलब्धिको रक्षा गर्ने र परिवर्तनविरुद्ध भइरहेको प्रतिगामी गतिविधिको सामना गर्न नयाँ अभियान सुरु गर्ने संकल्पको अवसरका रूपमा आफूले लिएको पनि बताए।




