काठमाडौं,०७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउन अग्रज नेताहरूको विचार, त्याग र दूरदृष्टिबाट प्रेरणा लिनुपर्ने बताएका छन्।
पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा जारी भिडियो सन्देशमा ओलीले नेपालमा भएका राजनीतिक परिवर्तनहरू कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्यबाट सम्भव भएको उल्लेख गरे।
उनले पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, इतिहासका गहिरा व्याख्याता तथा राजनीतिक चिन्तकका रूपमा स्मरण गर्दै मजदुर, किसान र आमजनताको अधिकारका लागि उनको योगदान ऐतिहासिक रहेको बताए। सहिद गंगालाल श्रेष्ठबाट प्रेरित पुष्पलालले जीवनभर परिवर्तनका लागि संघर्ष गरेको ओलीको भनाइ थियो।
त्यस्तै, बीपी कोइरालालाई नेपाली राजनीतिको बहुआयामिक व्यक्तित्वका रूपमा चित्रण गर्दै उनले लोकतन्त्र र राष्ट्रिय रूपान्तरणमा बीपीको भूमिका अविस्मरणीय रहेको बताए।
ओलीले अहिले आन्दोलनले केही चुनौती र अवरोध सामना गरिरहेको स्वीकार गर्दै अग्रज नेताहरूको आदर्श र दृढ संकल्पबाट प्रेरणा लिए आन्दोलनलाई पुनः सशक्त रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे। साथै, बीपीको जेलजीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिक इतिहासका प्रेरणादायी अध्याय भएको उनले उल्लेख गरे।




