spot_img

भारत र बंगलादेशलाई बिजुली बेचेर नेपालले कमायो २९ अर्ब

spot_img
spot_img

काठमाडौं,०७ साउन । नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरेर एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा विद्युत निर्यातबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको हो।

प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। तर आर्थिक वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ।
नेपालले भारतीय खुला बजार र बंगलादेशसँगको त्रिपक्षीय विद्युत व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रति युनिटका दरले बिजुली बिक्री गरेको प्राधिकरणले जनाएको छ।

विद्युत निर्यात बढेसँगै आयातमा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। तर २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ।
आयात घट्दा विद्युत खरिदमा बाहिरिने रकम पनि घटेको छ।

समीक्षा वर्षमा विद्युत आयात खर्च १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशत कम हो।

निर्यातबाट भएको आम्दानी र आयातमा भएको खर्चको हिसाब गर्दा नेपालले विद्युत व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत हासिल गरेको छ।
अघिल्लो आर्थिक वर्षमा विद्युत व्यापारबाट भएको खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र थियो। प्राधिकरणका अनुसार समीक्षा वर्षमा विद्युत व्यापार बचत ३१३ प्रतिशतले वृद्धि भएको छ।

पछिल्लो वृद्धिले नेपाल क्रमशः विद्युत आयातकर्ता देशबाट ऊर्जा निर्यातकर्ता देशतर्फ अघि बढिरहेको देखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय