काठमाडौं,०७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुक अहिले राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर चुनौती उत्पन्न भएको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारका गतिविधिले देशलाई फाँसीवाद र राष्ट्रघातको दिशातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाए।
उनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर खतरा उत्पन्न भएको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। प्रधानमन्त्रीले अर्को देशले नेपालको भूमि मिचेको विषयमा गलत अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसबारे आत्मालोचना नगरेको उनले बताए।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले वर्तमान सरकारका कामकारबाही दक्षिणपन्थी पपुलिस्ट प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाउँदै सरकारले संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति स्पष्ट प्रतिबद्धता देखाउन नसकेको टिप्पणी गरे।
उनले संविधान र लोकतन्त्रको रक्षा अहिलेको सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसका लागि लोकतान्त्रिक शक्ति र कम्युनिस्ट आन्दोलनबीच सहकार्य तथा एकता आवश्यक रहेको बताए।
संविधान संशोधनको विषयमा आफूहरू विपक्षमा नरहेको स्पष्ट पार्दै श्रेष्ठले संशोधन लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा उनले निराशा र पलायनवादबाट मुक्त हुँदै लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको संरक्षणसँगै समाजवादको लक्ष्य हासिल गर्न सबै प्रगतिशील शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।




