काठमाडौं,०७ साउन । सरकारले अर्ग्यानिक कृषि क्षेत्रको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री बालेन शाहले अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन दिने विभिन्न पहल अघि बढाइने बताएका हुन्।
छलफलका क्रममा एसोसियसनले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रिया अत्यन्त खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने माग राखेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले रासायनिक मल र विषादीको प्रयोग क्रमशः नियन्त्रण गर्दै अर्ग्यानिक खेतीलाई राष्ट्रिय प्राथमिकतामा राखिने बताएका छन्। साथै, प्रांगारिक (जैविक) मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
एसोसियसनका प्रतिनिधिहरूले सरकारले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा उपलब्ध गराउँदै आएको ७५ प्रतिशतसम्मको अनुदान बन्द भएपछि उत्पादकहरू समस्यामा परेको उल्लेख गर्दै उक्त सुविधा पुनः सञ्चालन गर्न आग्रह गरेका थिए।
भेटवार्तामा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
सरकारको पछिल्लो प्रतिबद्धताले अर्ग्यानिक कृषि क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सकारात्मक आधार तयार हुने अपेक्षा गरिएको छ।




