काठमाडौं,०८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो खिचिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भाइरल तस्बिरमा सांसद गुप्ता मोटरसाइकलको पछाडिको सिटमा उभिएर भिडियो बनाइरहेको देखिन्छ। सरकारले पछिल्लो समय ट्राफिक नियमको कार्यान्वयनमा कडाइ गरिरहेका बेला सांसदकै यस्तो गतिविधिले सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना निम्त्याएको छ।
जानकारीअनुसार उक्त तस्बिर बिहीबार सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाँदै गर्दा खिचिएको हो।
घटनाबारे सांसद गुप्ताले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। यस विषयमा सम्बन्धित निकायले पनि औपचारिक धारणा सार्वजनिक गरेको छैन।




