काठमाडौं,०८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई थप पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन नयाँ आन्तरिक निर्देशन जारी गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादबाट टाढा रही योग्य, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएका तथा पार्टीको मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
निर्देशनमा समावेशी प्रतिनिधित्वलाई प्रोत्साहन गर्ने, दोहोरो सुविधा लिने वा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्ति नगर्ने तथा छनोट प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, योग्य उम्मेदवार छनोट भएपछि नियुक्ति अघि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ।
रास्वपाले आफ्ना सबै सांसदलाई सार्वजनिक स्रोतको जिम्मेवार उपयोग गर्दै उच्च नैतिक आचरण र जनउत्तरदायित्व कायम राख्न पनि निर्देशन दिएको छ।




