काठमाडौं,०८ साउन । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको भनिएको ठगी प्रकरणमा आठ जना पूर्वपदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, पूर्वसभापतिहरू ओमकृष्ण कर्माचार्य, युरी कुमारी राई र भगवान शाक्य, पूर्वकोषाध्यक्षहरू दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध अभियोग दर्ता गरिएको हो।
सीआईबीका अनुसार आरोपितमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् भने बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको छ। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले उनीहरूविरुद्ध ठगीको कसुरमा अभियोग दर्ता गरिएको जानकारी दिएका छन्।
यस प्रकरणको छानबिन उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा गठित आयोगले २०७७ सालमै सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएको थियो। मन्त्रिपरिषद्ले गत चैतमा उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएर अदालतमा मुद्दा दायर गरेको हो।




