काठमाडौं,०८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउन अवैतनिक (मानार्थ) वाणिज्यदूतहरूले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकबीच आर्थिक, व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। विशेषगरी नेपालमा आवासीय कूटनीतिक नियोग नभएका देशहरूसँग सम्बन्ध सुदृढ बनाउन उनीहरूले पुर्याएको योगदानको उनले प्रशंसा गरे।
मन्त्री खनालले वर्तमान सरकार सुशासन, पारदर्शिता र समावेशी आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै नेपालको विकास प्राथमिकतासँग मेल खाने गरी द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउन आग्रह गरे।
उनले परराष्ट्र मन्त्रालय आर्थिक कूटनीति, व्यापार विस्तार र लगानी प्रवर्द्धनका क्षेत्रमा वाणिज्यदूतहरूसँग नजिकबाट सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। साथै, भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र कानुनी तथा संस्थागत सुधार सरकारको पहिलो वर्षको मुख्य प्राथमिकता रहेको पनि बताए।
मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूको कामलाई अझ प्रभावकारी बनाउन आवश्यक नियम, सुविधा र कानुनी व्यवस्थामा समयानुकूल सुधार गरिने जानकारी दिए। उनले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, वैदेशिक लगानी, व्यापार विस्तार र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिने उल्लेख गर्दै उच्च व्यावसायिकता, निष्ठा र कानुनी दायराभित्र रहेर जिम्मेवारी निर्वाह गर्न सबै वाणिज्यदूतलाई आग्रह गरे।




