सप्तरी,०८ साउन । धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सप्तरीमा डीएपी (डाइ–अमोनियम फस्फेट) मलको अभाव भएपछि किसान समस्यामा परेका छन्। आवश्यक मल नपाउँदा किसानहरू बिक्री केन्द्र र स्थानीय तहमा धाइरहेका छन्।
पर्याप्त वर्षाका कारण जिल्लाभर धान रोपाइँ तीव्र गतिमा अघि बढेको भए पनि प्रारम्भिक वृद्धि र जराको विकासका लागि आवश्यक डीएपी मल अभाव भएपछि किसान चिन्तित बनेका हुन्। अधिकांश किसानको एउटै जिज्ञासा रहेको छ– ‘डीएपी मल कहिले आउँछ?’
रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवका अनुसार सयौँ किसान दैनिक पालिकामा पुगेर मल उपलब्ध गराइदिन आग्रह गरिरहेका छन्। सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले पनि मल अभावका कारण किसानको गुनासो बढिरहेको बताइन्।
कृषि सामग्री कम्पनी लिमिटेड, राजविराज कार्यालयका प्रमुख सोनेलाल मुर्मुले चालु आर्थिक वर्षका लागि जिल्लामा ८ हजार मेट्रिक टन युरिया र ७ हजार मेट्रिक टन डीएपी आपूर्ति गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार हाल युरियाको अभाव नभए पनि डीएपी ढिलो आइपुगेकाले समस्या देखिएको हो।
मुर्मुले एक साताभित्र डीएपी मल जिल्लामा आइपुग्ने र हालको अभाव हट्ने विश्वास व्यक्त गरे। साल्ट ट्रेडिङ कर्पोरेशन, राजविराजका प्रमुख शत्रुघन साहले पनि केही दिनमै मल आइपुग्ने भन्दै किसानलाई धैर्य गर्न आग्रह गरेका छन्।
कृषि अधिकारीहरूका अनुसार मधेश प्रदेशमा रासायनिक मलको माग अत्यधिक भए पनि आवश्यक परिमाणमा आपूर्ति हुन नसक्दा प्रत्येक वर्ष धान रोपाइँको समयमा मल अभाव दोहोरिने समस्या कायम रहेको छ।




