spot_img

अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडाइ, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप ब्लक

spot_img
spot_img

वीरगन्ज,०८ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार नियन्त्रणका लागि देशभर सञ्चालनमा रहेका दुई लाख २३ हजारभन्दा बढी अवैध वेबसाइट तथा मोबाइल एप्लिकेसन ब्लक गरेको छ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार अनलाइन बेटिङ र स्क्यामिङ नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्राधिकरणले विशेष कारबाही अघि बढाएको हो। फिफा विश्वकपको समयमा अनलाइन सट्टेबाजी बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी थप कडा बनाइएको जनाइएको छ।

प्राधिकरणले यसका लागि विशेष टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको समन्वयमा २४सै घण्टा अवैध वेबसाइट र एपहरू ब्लक गर्ने काम गरिरहेको जनाएको छ।

टास्क फोर्सका सदस्य तथा दूरसञ्चारका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार एउटै वेबसाइट बन्द गरेपछि नयाँ नाममा फेरि सञ्चालनमा आउने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स’ प्रणालीमार्फत नयाँ डोमेन पहिचान गरी निरन्तर ब्लक गर्ने कार्य भइरहेको छ।

प्राधिकरणले सर्वसाधारणलाई पनि अवैध बेटिङ वा वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपबारे जानकारी भएमा सूचित गर्न आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा प्राविधिक टोलीले अनुसन्धान गरी आवश्यक परे ती साइटहरू नेपालभर सञ्चालन हुन नसक्ने गरी तत्काल ब्लक गर्ने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय