काठमाडौं,०८ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक जटिलता उत्पन्न हुनुमा आफूहरूबाट पनि त्रुटि भएको स्वीकार गर्दै गम्भीर आत्मसमीक्षाको आवश्यकता औँल्याएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढेको तथा प्रतिगामी शक्तिहरू सक्रिय बनेको दाबी गरे।
उनले भदौ २३–२४ का घटनापछि नेपाल सुगौली सन्धिपछिकै सबैभन्दा जटिल परिस्थितिमा पुगेको टिप्पणी गर्दै त्यसबारे गहिरो र वैज्ञानिक समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार अहिलेको संकटलाई सामान्य विश्लेषणले मात्र बुझ्न वा समाधान गर्न सम्भव छैन।
प्रचण्डले राजनीतिक नेतृत्वले आफ्ना कमजोरी पनि स्वीकार गर्नुपर्ने उल्लेख गर्दै वर्तमान अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको इमानदार समीक्षा गर्नुपर्ने धारणा राखे। उनले विदेशी हस्तक्षेपलाई मात्र दोष दिएर समस्या समाधान नहुने पनि बताए। उनले इतिहासबाट सिक्दै राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि सबै राजनीतिक शक्तिबीच गम्भीर छलफल र सही रणनीति आवश्यक रहेकोमा जोड दिए।




