बुटवल,०८ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा आन्तरिक विवादका कारण चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत हुन सकेको छैन। कानुनअनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नुपर्ने व्यवस्था भए पनि साउन ८ गतेसम्म गाउँसभा नै बस्न नसकेको हो।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार बजेटको सिलिङ निर्धारणमा सहमति जुट्न नसक्दा बजेट प्रस्तुत हुन सकेको छैन। वडाध्यक्षहरूबीचको मतभेद र प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले गाउँसभा प्रभावित भएको उनले बताए।
यता प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले भने बजेटका विषयमा जनप्रतिनिधिहरूबीच सहमति नहुँदा गाउँसभा स्थगित भएको बताएका छन्। असार २६ गते गाउँसभा बोलाउने तयारी भए पनि विवाद समाधान नभएपछि बैठक हुन सकेको थिएन।
गाउँपालिका प्रवक्ता सञ्जयकुमार सैनिले अध्यक्ष त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृत यादवबीचको असमझदारीले पनि बजेट प्रक्रिया प्रभावित भएको दाबी गरेका छन्। बजेट पारित नहुँदा गाउँपालिकाको खाता सञ्चालनसमेत प्रभावित भएको छ। अध्यक्ष त्रिपाठीले आगामी सोमबारदेखि खाता सञ्चालन प्रक्रिया अघि बढाइने र त्यसको केही दिनभित्र बजेट गाउँसभामा प्रस्तुत गर्ने तयारी रहेको बताएका छन्।
रुपन्देहीका अन्य सबै स्थानीय तहले भने समयमै बजेट ल्याइसकेका छन्। कोटहीमाई गाउँपालिकामा गत वर्ष पनि आन्तरिक विवादकै कारण बजेट ढिलाइ भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव विवेक घिमिरेले कानुनी समयसीमाभित्र बजेट नल्याउने स्थानीय तहको खाता सञ्चालनमा रोक लाग्न सक्ने र आगामी वर्ष वित्तीय समानीकरण अनुदानसमेत घट्न सक्ने चेतावनी दिएका छन्।




