spot_img

न्यायको माग गर्दै सिंहदरबार पुगेका निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्ति भंगको मुद्दा

spot_img
spot_img

काठमाडौं,०८ साउन । न्यायको माग गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारअघि धर्ना दिएका निहारिका राजपुत र बिनु यादवविरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। दुवैलाई पक्राउ गरेर तीन दिनदेखि प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको हो।

गत बुधबार झरीमा भिज्दै गृहमन्त्रीसँग भेटेर न्याय माग्ने उद्देश्यले सिंहदरबार पुगेका उनीहरूलाई प्रहरीले प्रवेश गर्न नदिएपछि सडकमै धर्ना दिएका थिए। सडक अवरुद्ध हुने गरी प्रदर्शन गरेको र सार्वजनिक शान्तिमा असर पुगेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

निहारिका राजपुत यसअघि ‘कुमारी आमा’का रूपमा चर्चामा आएकी थिइन्। उनले आफू बलात्कारको पीडित भएको, न्यायिक प्रक्रियामा असहयोग भएको तथा डीएनए परीक्षणको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएकी थिइन्। पछि डीएनए परीक्षणले जैविक सम्बन्ध पुष्टि भएपछि सम्बन्धित व्यक्तिसँग विवाह भए पनि आफूले वैवाहिक जीवनमा हिंसा र अस्वीकारको सामना गर्नुपरेको भन्दै पुनः न्यायको खोजीमा रहेको उनको भनाइ छ।

यस्तै, बिनु यादवले पनि आफूले वैवाहिक जीवनमा घरेलु हिंसा, दुर्व्यवहार र अन्याय भोगेको आरोप लगाउँदै लामो समयदेखि कानुनी लडाइँ जारी राखेकी छन्। सम्बन्ध विच्छेदसम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

यी दुवै महिलाले आफूहरूमाथि भएको अन्यायको निष्पक्ष सुनुवाइको माग गर्दै आन्दोलन गरिरहेका बेला सार्वजनिक शान्ति भंगको मुद्दा दर्ता भएपछि घटनाले नयाँ मोड लिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय