काठमाडौं,०८ साउन । प्रधानमन्त्री बालेन शाहले निर्यातजन्य उद्योग व्यवसायले भोगिरहेका समस्या समाधान गर्दै निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीका समस्या सुनेर तत्काल समाधान गर्न सकिने विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको बताएका हुन्।
नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद घिमिरेका अनुसार छलफलमा कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डको समकक्षता तथा अन्य नीतिगत समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। साथै, प्लाइवुडका ढोका र काठ निर्यातका लागि आवश्यक कार्यविधि शीघ्र तयार गरी प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
छलफलमा सहभागी नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिकी बजारमा गलैंचा निर्यातका क्रममा देखिएका समस्या पनि प्रधानमन्त्रीसमक्ष उठाएका थिए। नेपालमा उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने आवश्यक प्रविधि नहुँदा निर्यातमा कठिनाइ भइरहेको जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिएको गुरुङले बताए।
सरकारले निर्यातमुखी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने र उद्योगीले उठाएका व्यावहारिक समस्याको समाधानमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।




