काठमाडौं,०८ साउन । न्यायको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेपछि पक्राउ परेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ। तीन दिनदेखि प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भने जारी रहनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
गत बुधबार न्यायको माग गर्दै तथा गृहमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका निहारिका र बिनुलाई प्रहरीले प्रवेश गर्न नदिएपछि उनीहरू मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका थिए। सडक अवरुद्ध हुने गरी प्रदर्शन गरेको र सार्वजनिक शान्तिमा असर पुगेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
निहारिका राजपुत लामो समयदेखि आफूले न्याय नपाएको भन्दै आन्दोलन गर्दै आएकी छन्। डीएनए परीक्षणपछि विवाह भए पनि आफूले वैवाहिक जीवनमा हिंसा र अस्वीकारको सामना गर्नुपरेको भन्दै उनी पुनः न्यायको खोजीमा आन्दोलनरत छिन्।
यस्तै, बिनु यादवले पनि वैवाहिक जीवनमा हिंसा, दुर्व्यवहार तथा अन्याय भोग्नुपरेको आरोप लगाउँदै वर्षौंदेखि कानुनी लडाइँ लडिरहेकी छन्। सम्बन्ध विच्छेदसम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। दुवै महिलाले न्यायको माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन् भने उनीहरूमाथिको सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको प्रहरीले जनाएको छ।




