बीरगन्ज,०८ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रासायनिक मलको अभाव समाधान गर्न सरकार असफल भएको आरोप लगाउँदै कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्।
बाराको कलैयामा आम किसान मोर्चाले आयोजना गरेको ‘मलखादको हाहाकार, आपूर्तिमा असफल सरकार’ कार्यक्रममा बोल्दै साहले धान रोपाइँको मुख्य समयमा पनि किसानले आवश्यक मल नपाउनु सरकारको गम्भीर असफलता भएको बताए।
उनले कृषिप्रधान मुलुकमा किसानलाई समयमै मल उपलब्ध गराउन नसक्ने मन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नरहेको भन्दै तत्काल राजीनामा दिन आग्रह गरे। साहले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले राहतको अनुभूति गर्न नसकेको टिप्पणी गर्दै किसानका आधारभूत समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।
सरकारले रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न नसकेको आरोप लगाउँदै उनले भारतबाट मल ल्याउन खोज्ने किसानलाई समेत अवरोध गर्ने कार्य स्वीकार्य नभएको बताए।
तराई–मधेससहित देशभरका किसान मल अभावबाट प्रभावित भएको उल्लेख गर्दै साहले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानको समस्या समाधान गर्न प्रभावकारी पहल गर्न नसकेको आरोप लगाए। उनले किसानले ल्याएको मलसमेत नियन्त्रण गर्नु अनुचित भएको भन्दै सरकारको भूमिकामाथि प्रश्नसमेत उठाए।
कार्यक्रममा आजपा नेता अशोक लामा, संविधानसभा सदस्य आत्माराम साहलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।




