धनगढी,९ साउन – २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा चिनी (सुगर) को मात्रा अत्यन्त कम देखिएपछि चिकित्सकहरूले तत्काल आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार उनलाई सेती प्रादेशिक अस्पताल लगिएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए।
डा. केसी बिहीबारदेखि पाँच बुँदे माग अघि सार्दै धनगढीमा २४औँ सत्याग्रहमा बसेका छन्। अनशन लम्बिँदै जाँदा उनको स्वास्थ्यमा थप समस्या देखिएको छ। मांसपेशी बाउडिने, बोल्न कठिन हुने तथा यसअघि खुट्टाको शल्यक्रिया भएका कारण हिँडडुल गर्नसमेत असहज भइरहेको बताइएको छ।
डा. केसी आफ्ना पाँच बुँदे माग पूरा गर्नुपर्ने अडानमा छन्। सरकारले वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको भए पनि उनले आफ्ना मुख्य मागमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन्।




