वीरगंज,१० साउन – मधेस प्रदेशमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ। अभियान तीव्र बनेसँगै लागूऔषध सेवन तथा कारोबारमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् भने ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषध पनि बरामद भइरहेको छ।
प्रदेशका आठवटै जिल्लामा नियमित चेकजाँच र निगरानी बढाइएपछि गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइन तथा अन्य लागूऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिहरू प्रहरीको नियन्त्रणमा परिरहेका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी दुई हजार १२१ वटा मुद्दा दर्ता भएका छन्। सो अवधिमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिकसहित कुल दुई हजार ८११ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
गत आर्थिक वर्षमा मात्रै प्रहरीले ८७१ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी नागरिक रहेका छन्। सो अवधिमा ६३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा १५ हजार ३८२ किलोग्राम गाँजा, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, ५१६ ग्राम ब्राउन सुगर, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ ट्याब्लेट, दुई हजार ११८ बोतल सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद गरिएको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसम्बन्धी ५८५ वटा मुद्दा दर्ता हुँदा ८३६ जना पक्राउ परेका थिए। त्यतिबेला १६ हजार ५७३ किलोग्राम गाँजा, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, ६१ ग्राम ब्राउन सुगर, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा लागूऔषधका ७९७ मुद्दा दर्ता भएका थिए भने एक हजार १०४ जना पक्राउ परेका थिए। सो वर्ष आठ हजार ५३९ किलोग्राम गाँजा, १२१ किलो १४६ ग्राम चरेस, ५९४ ग्राम ब्राउन सुगर, एक ग्राम अफिम, एक हजार १३१ ग्राम ७.१११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद गरिएको थियो।
प्रहरीका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै सीमावर्ती भारतीय बजारबाट लागूऔषध नेपाल भित्र्याउने प्रवृत्ति अझै चुनौतीकै रूपमा रहेको छ। सीमाक्षेत्रका औषधि पसलबाट सहज रूपमा खरिद गरिएका लागूऔषध काठमाडौंसम्म पुग्ने गरेको प्रहरीको भनाइ छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सीमावर्ती नाकामा चेकजाँच कडा बनाएपछि नेपाल फर्किने धेरै युवाको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद भइरहेको छ।
उनले पक्राउ पर्ने अधिकांश व्यक्ति २० देखि ३० वर्ष उमेर समूहका युवा रहेको बताए। पढाइ छोडेका, बेरोजगार तथा गलत संगतमा परेका युवाहरू लागूऔषध दुर्व्यसनमा फस्ने क्रम बढेको उनको भनाइ छ।
अधिकारीका अनुसार पछिल्लो समय लागूऔषधको असर युवामा मात्रै सीमित नरही बालबालिका, किशोरकिशोरी र महिलासम्म फैलिन थालेको छ। उनले धेरै अभिभावकले आफ्ना सन्तान लागूऔषधको कुलतमा परेको स्वीकार गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै यसको रोकथामका लागि अभिभावक, विद्यालय, शिक्षक र परिवार सबैको संयुक्त सचेतना आवश्यक रहेको बताए।




