वीरगंज,१० साउन – नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले थप विवादको रूप लिएको छ। चिकित्सकहरू सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् भने मृतकका आफन्तले उपचारमा लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप दोहोर्याएका छन्।
वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले नारायणी अस्पतालको आकस्मिक कक्षमा प्रदर्शन गर्दै तोडफोड गरेका थिए। सोही क्रममा ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका डा. रामको अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ।
घटनापछि सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ। साथै छानबिन प्रतिवेदन नआएसम्म आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग राख्ने निर्णय गरिएको छ। जिम्मेवारीबाट अलग गरिएकामा डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन्।
गठित छानबिन समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल तथा अस्पतालका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य रहेका छन्।
अस्पताल प्रशासनको उक्त निर्णयप्रति नेपाल चिकित्सक संघ, नारायणी शाखाले असन्तुष्टि जनाएको छ। संघले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न, जिम्मेवारीबाट अलग गरिएका स्वास्थ्यकर्मीलाई बिना शर्त काममा फर्काउन तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न माग गरेको छ।
नेपाल चिकित्सक संघ, नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताले चिकित्सकमाथिको हिंसाले स्वास्थ्यकर्मी असुरक्षित महसुस गरिरहेको र जिम्मेवारीबाट अलग गर्ने निर्णयले उनीहरूको मनोबल कमजोर बनाएको बताए। उनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।
संघको आह्वानमा आइतबारदेखि नारायणी अस्पतालसहित वीरगञ्जका सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजका चिकित्सकहरूले आकस्मिक सेवासमेत बहिष्कार गर्दै अधिकांश स्वास्थ्य सेवा स्थगित गरेका छन्। आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी तथा सेवाग्राही प्रभावित भएका छन्।
यता मृतक राजकुमार पटेलका परिवारजनले भने अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको दाबी गरेका छन्। उनीहरूका अनुसार अक्सिजनमा रहेका बिरामीलाई उपचारका क्रममा सार्दा अक्सिजन आपूर्ति अवरुद्ध भएकाले उनको ज्यान गएको हो। यही आरोपपछि आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा विरोध प्रदर्शन गर्दै तोडफोड गरेका थिए।
यस घटनाप्रति नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि गम्भीर चासो व्यक्त गरेको छ। संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणमा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ।
चिकित्सकहरूको आन्दोलन, मृतक पक्षले लगाएको उपचारमा लापरबाहीको आरोप तथा अस्पताल प्रशासनले अघि बढाएको छानबिन प्रक्रिया सँगसँगै चलिरहेका बेला नारायणी अस्पतालको विवाद थप पेचिलो बन्दै गएको छ।
यस विषयमा प्रतिक्रिया लिन नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन सम्पर्कमा आउन सकेन।




