वीरगंज,१० साउन – साउन महिनाको सांस्कृतिक महत्वलाई उत्सवका रूपमा मनाउँदै वीरगञ्ज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूका लागि मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रतियोगितामा सहभागीहरूले विभिन्न आकर्षक र कलात्मक मेहन्दी डिजाइन प्रस्तुत गरेका थिए। सिर्जनशीलता, कलात्मकता, सफाइ र समग्र प्रस्तुतीकरणका आधारमा निर्णायक मण्डलले आकांक्षा बानियालाई प्रथम, कोमल गुप्तालाई द्वितीय तथा अञ्जली शाहलाई तृतीय स्थान प्रदान गरेको थियो। विजयी प्रतियोगीलाई विद्यालयले पुरस्कारसहित सम्मान गरेको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको बताइन्।
उनले विद्यालयको उद्देश्य पाठ्यक्रममा मात्र सीमित नरही बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकको सहभागिता बढाउने, सामाजिक तथा सांस्कृतिक मूल्यप्रति सम्मान अभिवृद्धि गर्ने र सिर्जनात्मक वातावरण निर्माण गर्ने रहेको उल्लेख गरिन्।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरेका थिए। उनीहरूका अनुसार यस्ता गतिविधिले विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र सांस्कृतिक चेतनाको विकासमा सकारात्मक योगदान पुग्छ।
उनीहरूले आगामी दिनमा पनि खेलकुद, कला, संस्कृति तथा अन्य सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिन विद्यालयलाई सुझाव दिएका थिए।
प्रतियोगिताको मूल्याङ्कन अञ्जु महतो, रोशनी सर्राफ र प्रिया कुमारी गुप्ताले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका प्रिती गुप्ताले गरेकी थिइन्।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले अभिभावकको सक्रिय सहभागिता बढाउने, विद्यालय र परिवारबीचको सम्बन्धलाई सुदृढ बनाउने तथा बालबालिकाका लागि सकारात्मक सिकाइ वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि शैक्षिक, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।




