काठमाडौं, १० साउन – नेपालको जलस्रोत क्षेत्रको अवस्था, सम्भावना र जलवायु परिवर्तनले पारेका प्रभावलाई समेटिएको ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आइतबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको असर, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका विविध पक्षलाई तथ्य र विश्लेषणसहित समेटिएको लेखकले बताएका छन्।
पुस्तक विमोचन गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल प्राकृतिक रूपमा जलसम्पदामा धनी राष्ट्र भए पनि त्यसको राष्ट्रिय हितअनुकूल र वैज्ञानिक ढङ्गले उपयोग हुन नसकेको टिप्पणी गरे। उनले जलस्रोतलाई विद्युत् उत्पादनमा मात्र सीमित नराखी कृषि, सिँचाइ, खानेपानी, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक विकाससँग जोडेर दीर्घकालीन राष्ट्रिय नीति निर्माण गर्न आवश्यक रहेको बताए।
लेखक महाजन यादवले पुस्तक तयार गर्नुको मुख्य उद्देश्य जलस्रोतसम्बन्धी नीतिगत बहसलाई तथ्यमा आधारित बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए।
उनका अनुसार पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्था र भविष्यका अवसर तथा चुनौतीसम्मको विस्तृत विश्लेषण प्रस्तुत गरेको छ। साथै जलवायु परिवर्तनका कारण देखिएका नयाँ चुनौतीलाई सम्बोधन गर्न आवश्यक नीतिगत तथा व्यावहारिक उपायबारे पनि पुस्तकमा चर्चा गरिएको छ।
आयोजकका अनुसार जलस्रोत, ऊर्जा, सिँचाइ तथा दिगो विकाससँग सम्बन्धित नीति निर्माण, अध्ययन र अनुसन्धानका लागि पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।




