वीरगंज,१० साउन – पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार बिहान करिब ७ः३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलको कोठा नम्बर ११८ मा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका दुई बोतल प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगञ्ज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओजसिम ठकुराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध बिक्री–वितरणमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




