वीरगंज,११ साउन – शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने मागसहित अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच निर्णायक चरणको छलफल जारी रहेको छ। दुवै पक्ष आज सहमतिमा पुग्ने उद्देश्यसहित वार्तालाई निष्कर्षमा पुर्याउने प्रयासमा छन्।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन तथा निजी मेडिकल कलेजमा विद्यार्थी भर्ना सिट संख्यासम्बन्धी विषयमा प्राविधिक स्तरमा छलफल भइरहेको छ। उनका अनुसार सरकार विवादित रजिष्ट्रारलाई जिम्मेवारीबाट हटाउन सकारात्मक देखिए पनि विश्वविद्यालयको नियमित सञ्चालन प्रभावित नहुने विकल्पमा सहमति खोज्ने प्रयास भइरहेको छ।
पाँच बुँदे माग अघि सार्दै ११ साउनदेखि धनगढीमा अनशनरत डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्वार्थ प्रेरित ढंगले गरिएको पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने माग गरेका छन्।
यसअघि आइतबार सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच करिब १२ घण्टा लामो छलफल भएको थियो। वार्ताका क्रममा सहमतिको मस्यौदा तयार भए पनि केही प्राविधिक विषयमा थप सहमति आवश्यक परेकाले अन्तिम निर्णय हुन सकेको थिएन। दुवै पक्षले बाँकी विषय टुंग्याएर सहमतिमा पुग्ने प्रयास जारी राखेका छन्।




