वीरगंज,११ साउन – नेपाली कांग्रेस–एमाले गठबन्धन प्रदेश सरकारहरूमा अन्त्य भएपछि नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार तीनबुँदे समझदारीमा हस्ताक्षर गर्दै पाँच प्रदेशमा संयुक्त रूपमा सरकार गठन गर्ने सहमति गरेका हुन्।
समझदारीअनुसार पहिलो चरणमा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहकार्य हुनेछ। तीमध्ये कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले नेतृत्व लिने सहमति भएको छ। दुवै दलले आवश्यकताअनुसार अन्य प्रदेशमा पनि सहकार्य विस्तार गर्ने सम्भावना खुला राखेका छन्। सहमती अनुसार मधेश प्रदेश सरकारको बिषयमा अहिले केही भनिएपनि बिस्तारै यसको असर अन्य प्रदेशमा पनि पर्ने र मधेश प्रदेशको सरकार समेत संकटमा पर्ने सम्भवना रहेको बताइएको छ ।
सहमतिलाई दुवै दलभित्र मिश्रित प्रतिक्रिया प्राप्त भएको छ। केही नेताहरूले यसलाई वामपन्थी सहकार्यको सकारात्मक सुरुआतका रूपमा व्याख्या गरेका छन् भने केहीले पार्टीका औपचारिक निकायमा पर्याप्त छलफल नगरी गरिएको निर्णय भएकाले यसको कार्यान्वयनबारे शंका व्यक्त गरेका छन्।
एमाले र नेकपाबीच यसअघि पार्टी एकतासमेत भएको इतिहास रहे पनि त्यो लामो समय टिक्न नसकेकाले नयाँ सहकार्यको स्थायित्वबारे पनि राजनीतिक वृत्तमा चासो बढेको छ। यही कारण विगतका अनुभव दोहोरिने हो कि भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
समझदारीका साक्षी रहेका नेकपाका नेता महेन्द्र शाहीले हालको सहकार्यलाई दुवै दलका लागि विश्वास परीक्षणको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार अहिले भएको सहमति इमानदारीपूर्वक कार्यान्वयन हुन सके भविष्यमा थप राजनीतिक सहकार्य र सम्भावित एकतासम्मको आधार तयार हुन सक्छ।
यस्तै, एमाले उपमहासचिव लेखराज भट्टले वर्तमान समझदारीलाई प्रदेश सरकार केन्द्रित सत्ता सहकार्यका रूपमा मात्र बुझ्नुपर्ने बताएका छन्। उनले विचार, सिद्धान्त र कार्यदिशामा स्पष्ट सहमति नबनी पार्टी एकताको विषयमा निष्कर्षमा पुग्न नसकिने धारणा राखेका छन्।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पनि अहिलेको सहमति प्रदेशस्तरको सहकार्यमा केन्द्रित रहेको उल्लेख गर्दै यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सके आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनसम्म सहकार्यलाई निरन्तरता दिने आधार बन्न सक्ने बताएका छन्।




