spot_img

पर्सामा चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित, चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक पक्राउ

spot_img
spot_img

वीरगञ्ज, ११ साउन — वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादले पर्साको स्वास्थ्य सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि आकस्मिक बाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द रहेका छन्।

आन्दोलनका कारण उपचारका लागि पर्सासहित आसपासका जिल्लाबाट वीरगञ्ज आएका बिरामीहरू उपचार नपाई घर फर्किन बाध्य भएका छन्। अस्पतालमा नियमित ओपीडी तथा अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्।

घटनापछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नारायणी अस्पताल परिसरमा भएको विवादका क्रममा चिकित्सक डा. प्रमोद राममाथि आक्रण गरेको आरोपमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

यता नारायणी अस्पताल प्रशासनले पनि उपचार प्रक्रियामा लापरवाही भएको प्रारम्भिक निष्कर्ष निकाल्दै पाँच जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न अस्पतालले छानबिन समिति गठन गरेको पनि जनाएको छ।

तर, मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्ना आफन्तको मृत्यु भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। पत्रकार सम्मेलनमार्फत उनीहरूले प्रशासनले दोषीलाई कारबाही गर्नुको सट्टा आफूहरूमाथि दबाब र धरपकड गर्ने प्रयास गरेको आरोपसमेत लगाएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले दुवै पक्षबीच संवादमार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। साथै, आन्दोलनरत चिकित्सकलाई आन्दोलन फिर्ता लिएर नियमित स्वास्थ्य सेवा सञ्चालनमा फर्किन आग्रह गरेको छ।

यसैबीच, अस्पतालले गठन गरेको भनिएको छानबिन समितिमा आफ्नो संलग्नता नरहेको डा. निरज सिंहले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्। उनले यस घटनाको निष्पक्ष छानबिन नेपाल मेडिकल काउन्सिलबाट हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय