काठमाडौं,११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरीको देवानगञ्ज र हरिनगरमा भएको हिंसात्मक झडप तथा प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त घटनाले देशको आन्तरिक सुरक्षा प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको बताइन्। स्थानीय तहमा उत्पन्न हुने सामान्य विवादलाई समयमै पहिचान गरी समाधान गर्न सुरक्षा संयन्त्र सक्षम हुनुपर्नेमा सुनसरीको घटनाले त्यसतर्फ गम्भीर चेतावनी दिएको उनको भनाइ छ।
ओलीले स्थानीय विवाद केही घण्टामै हिंसात्मक बन्दै प्रहरीको गोली चल्ने, नागरिकको ज्यान जाने र पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना हुनु सामान्य विषय नभएको उल्लेख गरिन्। यस्तो अवस्थाले सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको संकेत गर्ने उनको तर्क छ।
उनले राष्ट्रिय सुरक्षाको आधार नागरिकको दैनिक सुरक्षा, सामाजिक सद्भाव, सामुदायिक विश्वास र समयमै द्वन्द्व व्यवस्थापन रहेको उल्लेख गर्दै सानो लापरबाहीले पनि स्थानीय तनावलाई साम्प्रदायिक वा राजनीतिक द्वन्द्वमा रूपान्तरण गर्न सक्ने जोखिमप्रति सचेत रहन सरकार र सुरक्षा निकायलाई आग्रह गरेकी छन्।




